राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित, अब जलमार्गका लागि खुल्यो कानूनी बाटो


काठमाडौं । पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले, पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतीले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्नसमेत गरेका थिए।
मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिनेसमेत उनको दावी रहेको छ ।