Ad Image

अमेरिकाको लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोक्न विशेष सैनिक तैनाथ

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/us-protest88.jpg

काठमाडौं । अमेरिकाको लस एन्जलसमा जारी आप्रवासीहरुको आन्दालेनलाई नियन्त्रण गर्न विशेष तालिम प्राप्त समुद्री सेना परिचालन गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि जारी रहेको छ।  यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि विशेष तालिम प्राप्त सेना पनि तैनाथ गरेको छ।  

पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो । ट्रम्पले यसअघि नै लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका छन्।

पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २,००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने उनले बताए । यता राष्ट्रिय सुरक्षा गार्ड प्रदर्शन रोक्न प्रयोग भएको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका छन्। 

सोमबार क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा र न्युसमले ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका हुन् । ​​​​​​​न्युसमले ट्रम्पले आफ्नो अनुमति बिना राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेका हुन्।