सातै प्रदेशले आज बजेट ल्याउँदै, मधेश र बागमतीमा बजेटको आकार बढ्ने


काठमाडौं । सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ देखि ४० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । कोशीमा चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको थियो । कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले आज बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।
यसैगरी मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि चालू आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने भएको छ । चालू आवमा प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाखको बजेट ल्याएको थियो । आइतबार दिउँसो पाँच बजे अर्थमन्त्री सुनीलकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसैगरी बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा बजेटको आकार करिब पाँच प्रतिशत बढाउने तयारी गरेको छ । आइतबार दिउँसो तीन बजे आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्लेले बजेट सार्वजनिक गर्दै छन् । चालू आवमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
यसैगरी गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री टंकराज गुरुङले आइतबार दिउँसो चार बजे प्रदेश सभा बैठकमा आगामी आव ०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । चालू आवको तुलनामा बजेट करिब एक अर्ब घट्ने मन्त्रालय स्रोतले जनाएको छ ।
चालू आवमा पनि अघिल्लो आवको तुलनामा ६३ करोड कम बजेट आएको थियो । अघिल्लो वर्ष गण्डकीको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख रहेको थियो । यसैगरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट ल्याउने तयारी गरेको छ । आइतबार दिउँसो तीन बजे प्रदेश सभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यसूची छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी वर्षको बजेट घटाएर ल्याउने तयारी सरकारले गरेको छ ।
यसैगरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष ०८२र८३ को बजेट आज सार्वजनिक गर्दै छन् । उनले चालू आवकै हाराहारीमा आगामी आवका लागि बजेट तयार गरेको मन्त्रालय स्रोतले जनाएको छ । चालू आवमा कर्णालीमा ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट सार्वजनिक भएको थियो ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।