इजरायल–इरान तनावः जी–७ बैठक बीचैमा छाडेर ह्वाइटहाउस फर्किंदै ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–७ को शिखर सम्मेलन बीचैमा छाडेर स्वदेश फर्किँदै छन् । क्यानडाको कानानास्किसमा जारी जी–७ शिखर सम्मेलन छाडेर उनी वासिङ्टन फर्किँदै गरेको ह्वाइट हाउसले जनाएको छ ।
मंगलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै राष्ट्रपति ट्रम्पले जी–७ का सबै कार्यक्रम छाडेका हुन् । उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका थिए । इजरायल–इरानबीचको युद्ध चर्किँदै जाँदा त्यसको असर जी–सेभेन बैठकमा पनि परेको हो ।
यसैबीच ट्रम्पले इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । इरान न्युक्लियर हतियार राख्न सक्दैन । मैले यो पटक–पटक भनेको छु ।’