अदालतले माग्यो रवीन्द्र मिश्रसँग ३ लाख धरौटी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा ३ लाख धरौटीमा छुटिसकेका छन् । मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो।