युद्धका कारण इजराइलमा अड्किएका विराटनगरका मेयर स्वदेश फर्किए

काठमाडौं । एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन युद्धग्रस्त इजराइल पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन् ।
इजराइल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते मेयर कोइराला इजराइल पुगेका थिए । जुन १७ देखि १९ सम्म आयोजना हुने भनिएको मुनी वर्ल्ड कन्फरेन्स इजरायलको वर्तमान सुरक्षा अवस्थाका कारण अन्तिम समयमा स्थगित भयाे। सम्मेलन स्थगित भए पनि उडान टिकट अघि सार्न नमिलेपछि मेयर कोइराला इजरायलमा रोकिएका थिए ।
मेयर कोइराला स्थलमार्गबाट जोर्डन गएर त्यहाँबाट विमानमार्फत कुवेत, भारतको मुम्बई, नयाँ दिल्ली हुँदै बिहीवार दिउँसो साढे ४ बजे काठमाडौं उत्रिएको उनको सचिवालयले जनाएको छ । उनी काठमाडौंबाट साँझ नै विमानमार्फत विराटनगर पुगेका छन् ।