८२ तोला अवैध सुनचाँदीसहित पोखराबाट दुई जना पक्राउ


कास्की । पोखरा महानगरपालिका–२२ पुम्दीबाट प्रहरीले अवैध सुनचाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका ४९ वर्षीय कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना बरामद गरेको छ ।
उनीहरुले भारतबाट अवैध रुपमा ल्याएका सुनचाँदीका गरगहना पोखराका पसलमा बिक्री नभएपछि बुटवलतिर जाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।