Ad Image

मुग्लिन–मलेखु सडकखण्ड आजदेखि बन्द नहुने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/muglin.jpg

चितवन । मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चार वटा पुलमा आरसीसी गर्डर (बिम) राख्ने काम आज बिहान सम्पन्न भएसँगै रातिको समयमा सडक बन्द हुने कार्य अन्त्य भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको नैबिसे–मलेखु सडकखण्डमा भने गलौदी खोलामा गर्डर राख्नुपर्ने भएकाले आज र भोलि राति १०ः३० बजेबाट बिहान ३ः०० बजेसम्म यातायात रोक्ने तयारी गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

आयोजनाका पश्चिम खण्ड प्रमुख केदारप्रसाद नेपालका अनुसार, चितवनतर्फ बरबाङ्, मोवा, खटौती र गोमती खोलामा गर्डर राख्ने काम सम्पन्न भइसकेको छ । तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्र सकिनेगरी काम अघि बढाइएको छ । भारतबाट ल्याइएको भारी क्रेन प्रयोग गरेर जेठ ३० देखि असार ७ सम्म रातिको समयमा गर्डर राखिएको हो ।

यो खण्डअन्तर्गत हालसम्म करिब ८ किलोमिटर सडक कालोपत्र भइसकेको र थप २ किलोमिटर तयारी अवस्थामा रहेको आयोजनाले जनाएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्र तथा धादिङतर्फ मझिमटार, चरौदी र विशालटारमा कालोपत्र गरिएको छ ।

सडक खण्डमा २.२ किमी छ लेन, ७.२ किमी चार लेन र २.३ किमी क्लाइम्बिङ लेन बन्नेछ। बाँकी सडक डेडिकेटेड दुई लेनको हुने बताइएको छ ।

२०७९ पुस १५ गते ठेक्का सम्झौता भएको यो सडक स्तरोन्नतिको तेस्रो प्याकेजमा पर्दछ, जसअन्तर्गत ३८.८६ किलोमिटर सडक समावेश छ । शर्मा–जेडआइसिजी जेभीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको हो ।

सडकको नाला निर्माण, पर्खाल, भित्तो कटान, पहिरो रोकथाम र सुरक्षा पूर्वाधार निर्माण कार्य पनि जारी रहेको छ । यो आयोजना विश्व बैंकको सहयोगमा निर्माण भइरहेको हो ।