६१ किलो सुन तस्करीमा पक्राउ परेकी रोका अदालतमा उपस्थित


काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अदालतमा पेश गरेको छ ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार रोकाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत उनीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।
गत शुक्रबार टोखाबाट पक्राउ परेकी रोकाको खोजीमा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो । उनी बेल्जियम नागरिक दावा छिरिङकी पत्नी र ठमेलस्थित होटल भियनाको सञ्चालक हुन् ।
रोकाको नाम माओवादी नेतृको रूपमा पनि चिनिन्छ । उनले माओवादी नेताहरूसँग नजिकको सम्बन्ध बनाएको आरोप लागेका छिरिङसँग विवाह गरेपछि सुन तस्करी सञ्जालमा संलग्न रहेको आशंका गरिएको हो ।
सुनकाण्डमा पूर्वउपराष्ट्रपतिको छोरा दीपेश पुनसमेत मुछिएका छन् । रोकासहित तीन चिनियाँ नागरिकसँग गोसाइँकुण्ड घुम्न गएको विवरण सार्वजनिक भएपछि उनको समेत बयान लिइएको थियो ।
२०७९ साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । १९ दिनपछि विभागले अनुसन्धानका लागि फाइल सीआईबीमा बुझाएको थियो ।