छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, संसद अवरोधबारे आन्तरिक छलफल हुँदै

काठमाडौं । भिजिट भिसा प्रकरणबारे पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने मन्त्रिपरिषद् बैठकको निर्णयप्रति असन्तुष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद अवरोधबारे आन्तरिक छलफल गरिरहेको छ । संसद बैठक सुरु हुनुअघि रास्वपाको आन्तरिक छलफल भइरहेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। सोमवार राति बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको छ।रास्वपाले उक्त समितिप्रति असन्तुष्टि जनाएको छ ।
भिजिट भिसामार्फत् मानव तस्कर जस्तो संगठित अपराधबारे उठेको मुद्दासँग सम्बन्धित सरकारले बनाएको समिति सम्बन्धी पार्टीको धारणा बनाउनको लागि पार्टीका सांसदहरू आन्तरिक छलफलमा जुटेको बताइएको छ ।