कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के–के छन् एजेण्डा ?


काठमाडौं । पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए ।
यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले जानकारी दिए । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उनले बताए ।
यस्तै, महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ । प्रवक्ता डा महतले आजदेखि सुरु हुने बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसले लिएको छ ।