धनगढीमा भारी वर्षाले बस्ती डुबानमा, स्थानीय प्रभावित

धनगढी । धनगढी उपमहानगरपालिका–८ का विभिन्न टोलहरू भारी वर्षापछि डुबानमा परेका छन् ।
सिन्धुराखे, जनपथ र जुगेडा आसपासका टोलहरूमा बिहानैदेखि लगातारको वर्षाका कारण नालाहरूबाट पानी बग्न नसक्दा बस्तीभित्र पसेको छ ।
पानी घर तथा पसलभित्र पसेपछि स्थानीयहरू घरबाहिर निस्किन बाध्य भएका छन् । ‘नालामा निकासको व्यवस्था छैन, यही कारण पानी सिधै घरमा पस्यो,’ एक स्थानीयले भने ।
डुबानका कारण घरभित्र रहेका सामग्री सुरक्षित राख्न समस्या भएको जनाइएको छ । स्थानीयहरूले समयमै ढल निकास र नाला व्यवस्थापन नगर्दा वर्षाको सिजनमा बारम्बार डुबानको समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
हालसम्म मानवीय क्षतिको विवरण आएको छैन भने डुबानग्रस्त क्षेत्रमा राहत र व्यवस्थापनका लागि नगरपालिकाले तत्काल पहल नलिएको भन्दै स्थानीयहरू आक्रोशित छन् ।