सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सम्पन्न


काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद्का एक सदस्यको सुनुवाइ प्रक्रिया सम्पन्न गरेको छ । समितिको सिंहदरबारस्थित कार्यालयमा आज बसेको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ सम्पन्न गरेको हो ।
यसअघि आइतबार समितिले न्यायाधीशका लागि सिफारिस भएका मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरिसकेको थियो । चारै जनाको सुनुवाइ प्रक्रिया सकिएको र अन्तिम निर्णय भने आगामी बैठकमा गरिने समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।
सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले आफ्नो योग्यता, अनुभव, सोच र अवधारणाहरू प्रस्तुत गरेका थिए । उनीहरूले संविधान र कानूनको सीमाभित्र रही निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, न्यायपरिषद्का प्रस्तावित सदस्य महेश नेपालले पनि आफ्नो योग्यता, कार्यदक्षता, सोच र अवधारणा प्रस्तुत गर्दै न्यायिक प्रणाली सुदृढ बनाउने दिशामा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।