प्रदेश विकासमा साझा दृष्टिकोणबाट काम गर्न मुख्यमन्त्री शाहको आग्रह


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उनले कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाएर जनतालाई सेवा दिन महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताए ।
सुदूरपश्चिम प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासलाई सुनिश्चित गर्न प्रदेश सरकार र विकास साझेदार संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उनी बताउँछन् ।
प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेशका ८८ वटै स्थानीय तहमा सञ्चालनमा रहेको छ ।