समयमा वर्षा नहुँदा सिरहामा १८ प्रतिशत मात्र धान रोपाइँ


सिरहा । सिरहामा हालसम्म १८ प्रतिशत धान रोपाइँ गरिएको छ। कूल ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा हालसम्म ९ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
लामो समयदेखि वर्षा नभएको र सिँचाइको सुविधासमेत नहुँदा अहिलेसम्म १८ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले जानकारी दिए । पर्याप्त पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बिउ राखिएको थियो ।
असारको १५ गतेसम्ममा धेरैजसो धान रोपाइँ सम्पन्न हुनुपर्नेमा अहिले ८२ प्रतिशत जमिन बाँझो रहेको उनले बताए । अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् । अधिकांश किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन् ।
यस्तै खेतला नपाउँदा पनि वर्षेनी धानखेती प्रभावित हुँदै आएको छ । एकातिर सिँचाइको अभाव अर्कोतिर खेताला नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको गोलवजार १० का किसान राम किसुन महतोले बताए । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।