पूर्वराष्ट्रपति भण्डारी र बालेन शाहबीच भेटवार्ता, के भयो कुराकानी?


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच असार १९ गते भंगालस्थित निवासमा भेटवार्ता भएको छ ।
मेयर शाहको सचिवालयका अनुसार यो भेट पुरानो चिनजानको निरन्तरता स्वरूप भएको हो । भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत बालेन एक योजनामा संलग्न थिए ।
बालेन निकट स्रोतका अनुसार भेटका क्रममा समसामयिक विषयमा छलफल भएको थियो । तर, भेटका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
भेटका क्रममा एमाले नेता शेरधन राई, सांसद कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गर्दै पूर्वराष्ट्रपतिको रूपमा पाउने राज्य सुविधा त्यागिसकेकी छन् ।