इँटाभट्टा काण्डका साक्षी चमार भन्छन्– ‘आलमले अझै मार्न सक्छ भन्ने डर छ’


काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोट घटनाका प्रत्यक्ष साक्षी गौरीशंकर राम चमार आइतबार काठमाडौं आइपुगेका छन् ।
भारतको बिहार, सीतामढी घर भएका चमारले काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफू आलमको काकाको घर नजिकै बम विस्फोट हुँदा घाइते भएको र त्यसपछि इँटाभट्टामा मानिसहरूलाई जलाइएको दृश्य आफैंले देखेको दाबी गरे ।
उनले भने, “घरको ढोकाको छेउ पुग्नासाथ बम पड्कियो। म आगो लागेपछि पछाडि पानी हालेर भागेँ। बाँचियो, तर त्यसपछि के भयो भनेर आलमले एकपटक पनि सोधेनन्।”
चमारले पूर्वमन्त्री अफताब आलमले आफूलाई धम्की दिएको र अहिले पनि ज्यानको डर रहेको बताए । “आलम छुटेकोमा दुःख लागेको छ। मलाई अझै पनि उसले मार्न सक्छ जस्तो लाग्छ। यस्तो मान्छेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ,” उनले माग गरे ।
बम विस्फोट घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो । घटनाको १५ वर्षपछि सुरु गरिएको अनुसन्धानका क्रममा प्रमाण लोप भइसकेका थिए भने जाहेरी दिने आमाको गोली हानी हत्या भएको थियो ।
प्रहरीले कठिनाइका बीच प्रमाण संकलन गरेर अभियोजन गरे पनि उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै आलमसहितलाई सफाइ दिएको हो ।