आन्दोलनरत चिकित्सक र सरकारबीच आज साँझ वार्ता हुने


काठमाडौं । सरकारले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ता गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीसहित सरकारी टोलीले आज साँझ ६ बजे आन्दोलनरत चिकित्सकसँग छलफल गर्ने भएको हो ।
आज साँझ नै सहमति हुने गरी संवाद अगाडि बढाइएको छ । मंगलवार दिउँसो स्वास्थ्य मन्त्री पौडेल, कानुन मन्त्री चौरसिया र उद्योगमन्त्री भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो ।मन्त्रीहरु र आन्दोलनरत चिकित्सकका प्रतिनिधिहरुबीचको छलफल साँझ पुन: बस्ने गरी स्थगित भएको छ । चिकित्सकहरुले सरकारको पक्षबाट औपचारिक रुपमा छलफलमा बोलाएपछि वार्ता टोली बनाएर छलफलमा सहभागि हुने जनाएको छ ।
चिकित्सक संघले उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कार्बाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै संघले विरोध जनाउँदै आएको हो । बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।