लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउने


सिरहा । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ ।
मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मङ्गलबार नै सिल गरिएको छ ।
इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले भने, “प्रथम दृष्टिमा नै क्लिनिक अवैध देखिएकाले जिल्ला प्रशासन कार्यालयको परामर्शमा ताला लगाएर सिल गरिएको हो । अब कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।”
क्लिनिकका सञ्चालक डा धीरजकुमार साहले आफू सरकारी अस्पतालमा कार्यरत रहेको स्वीकार गरेका छन् । क्लिनिकको बोर्डमा पनि ‘लहान अस्पतालमा कार्यरत’ भनेर उल्लेख गरिएको छ, जुन सरकारी कर्मचारी आचारसंहिता विपरीत हो । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार यो विषयमा छानबिन हुनेछ ।
उनका अनुसार जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम स्वास्थ्य क्लिनिकले ‘डि’ र ‘ई’ वर्गको प्रयोगशाला राख्नुपर्ने व्यवस्था रहेको छ । तर, यस क्लिनिकले कुनै प्रकारको प्रयोगशाला राखेको पाइएन । त्यसैले बिना परीक्षण बिरामीको शल्यक्रिया गर्दा जोखिम आउन सक्छ ।
त्यस्तै, अनुगमनको क्रममा हस्पिटल चोककै ‘राधा कृष्ण डेन्टल क्लिनिक’ पनि सञ्चालनको लागि कुनै पनि इजाजतबिनै सञ्चालन गरेको पाइएको छ । त्यस्तै, दन्तसम्बन्धी ‘बिडिएस’ डक्टर हुनुपर्नेमा त्यो पनि नरहेको पाइएको हो । उक्त क्लिनिकलाई तीन दिनभित्र नगरपालिकामा आवश्यक कागजपत्र बुझाउन निर्देशन दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।
यसैगरी, लहान—११ मा रहेको लीला मदन प्रसूति गृहले पनि सञ्चालनको लागि नगरपालिकाबाट अनुमति पत्र लिए पनि २०७७ सालदेखि नवीकरण नगरेको पाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार, लहान नगरपालिकाभित्र जम्मा ४४ वटा क्लिनिक सञ्चालनमा रहे पनि आठ वटा क्लिनिकले मात्र इजाजत पत्र लिएर सञ्चालन गरेको छ भने अन्यले बिना अनुमति निर्वाध सञ्चालन गरेको पाइएको छ । दर्ता गरेका कुनै पनि क्लिनिकले नवीकरण गरेका छैनन् ।
अनुगमनको क्रममा अधिकांश क्लिनिकले अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नगरेको, प्रयोगशाला सुविधा नपुगेको, सङ्क्रमित फोहर खुला स्थानमा फालेको, प्रयोग गरिएका औजार सुरक्षित तरिकाले नष्ट नगरेको जस्ता गम्भीर त्रुटि पाइएको छ । यसले सङ्क्रमणको जोखिम थप बढाएको अनुगमन टोलीको निष्कर्ष छ ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गम्भीर विषय भएकाले अब यस्ता क्लिनिकमाथि थप निगरानी र कानुनी कारबाही अघि बढाइने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले बताए । “जनताको जीवन र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ”, उनले भने ।