विद्युत् प्रणालीमा समस्या आएपछि काठमाडौं महानगरको सेवा प्रवाह ठप्प


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय आज ठप्प भएको छ । आन्तरिक विद्युत् प्रणालीमा समस्या आएपछि महानगरका सम्पूर्ण सेवा प्रवाह रोकिएका हुन् ।
महानगरका एक कर्मचारीका अनुसार, हाल कार्यालय रहेको भवन पहिले दुई छुट्टाछुट्टै बिल्डिङका रूपमा सञ्चालनमा थियो । पछि एउटै कार्यालयमा परिणत गर्दा पुरानो र फरक–फरक वायरिङ प्रणालीले विद्युतीय भार थेग्न सकेन ।
हिजो भुक्तानीको अन्तिम दिन भएकाले ढिलोसम्म काम हुँदा कम्प्युटर, एसी र बत्तीहरू एकैसाथ चल्दा यो समस्या आएको हो । ती कर्मचारीले भने, ‘विद्युतीय लोड ब्यालेन्स नमिलेर समस्या आएको हो।’
हाल प्राविधिक टोलीले वायरिङ मर्मतको काम गरिरहेको र चाँडै नै कार्यालयका सबै काम पूर्ण रूपमा सुचारु हुने अपेक्षा गरिएको छ ।