७ वर्षदेखि घाइते छाडा चौपायाको उद्धारमा कञ्चनपुरका विष्णु


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित गरिरहेका छन् । पेसाले नेचर गाइड रहेका पनेरु सात वर्षदेखि अभियान नै चलाएर सडक दुर्घटना वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायाको उद्धार, उपचार र स्याहार गर्दै आएका छन् ।
“घाइते, बिरामी छाडा चौपाया देखेपछि दयाको भावना जाग्छ, घरमै लगेर उपचार गर्छु,” पनेरुले भने, “उपचारपछि व्यवस्थापन गर्ने स्रोत नहुँदा पुनः सडकमै छाड्नुपर्दा नराम्रो लाग्छ ।” उनले हालसम्म करिब एक हजारभन्दा बढी जनावरको उद्धार तथा उपचार गरिसकेको बताए ।
अहिले पनि १० वटा घाइते गाईगोरु उपचारका लागि घरमै राखेका छन् । सामाजिक सञ्जालबाट प्रभावित भई सात–आठ जना युवा विद्यार्थी पनि उनको अभियानमा जोडिएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेचर गाइडका रूपमा कार्यरत पनेरु मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् र त्यसैबाट जनावरको उपचार र स्याहारमा खर्च गर्छन् । उनी गाईगोरु मात्र नभएर घाइते कुकुर, बिरालो लगायतका अन्य जनावरको पनि उद्धार गर्छन् ।
छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरका पालिकाहरूले करोडौँ रुपैयाँ खर्च गरे पनि अपेक्षित व्यवस्थापन हुन नसकेको र छाडा चौपायाकै कारण सडक दुर्घटनामा वृद्धि भएको पनेरु औँल्याउँछन् ।
दूध दुहुञ्जेल गाई पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलन तथा सामुदायिक वनबाट घाँस ल्याउन नपाइने र चरन क्षेत्रको अभावले यो समस्या विकराल बनेको उनको भनाइ छ ।
पनेरुले स्थानीय सरकारले हरेक वडा कार्यालयमा पशुपालनको तथ्याङ्क राख्नुपर्ने र जनावर छाडा छाड्नेलाई दण्ड तथा जरिवानाको व्यवस्था गरेमा छाडा चौपायाको समस्या न्यूनीकरण हुने सुझाव दिएका छन् ।