युवा विदेशिँदा ज्येष्ठ नागरिकको स्याहारमा चुनौती बढ्दै


कैलाली । युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढ्दा नेपालमा रहेका ज्येष्ठ नागरिकहरूको स्याहारमा समस्या बढ्दै गएको टीकापुरका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
टीकापुरस्थित वृद्ध सेवा समितिमा भएको छलफलमा सहभागीहरूले अब नेपाली आमाबुबाले छोराछोरीबाट विगतजस्तो राम्रो स्याहार पाउन कठिन हुने अवस्था आएको बताएका छन् ।
स्थानीय हिरासिंह विष्टले सन्तानले रकम दिए पनि समय दिन नसक्ने अवस्था आएकाले सुविधासम्पन्न ज्येष्ठ नागरिक स्याहार केन्द्रहरू निर्माण गर्न धनी वर्गबाट लगानी हुनुपर्नेमा जोड दिए ।
टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले १२ कक्षापछि बालबालिका विदेशिने क्रम बढेकाले ज्येष्ठ नागरिकको सीप र ज्ञान युवाले लिन नपाउने तथा ज्येष्ठ नागरिकले स्याहार नपाउने चिन्ता बढेको बताए ।
वृद्ध सेवा समितिका अध्यक्ष बलबहादुर रावलले बुढेसकालमा आश्रम नै आश्रयस्थल बन्ने लक्षण देखिएकाले सरकार र समाजका हुनेखाने वर्ग मिलेर ज्येष्ठ नागरिक बस्ने आश्रयस्थल सुविधासम्पन्न बनाउनुपर्ने धारणा राखे ।
समाजसेवी धनराज उपाध्यायले स्वर्गीय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा पालिकाले सहयोग गर्नुपर्ने बताए भने पूर्वअध्यक्ष कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई सङ्गठित गर्ने र उनीहरूको अधिकारका लागि काम गर्न आवश्यक रहेको बताए ।
वृद्ध सेवा समितिले ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तरक्रिया, ज्येष्ठ नागरिक दिवस मनाउने, खिचडी खुवाउने, असहाय महिलालाई कपडा वितरण गर्ने तथा विभिन्न रोग (अल्जाइमर्स, डिमेन्सिया, स्ट्रोक) सम्बन्धी जानकारी गराउने जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसबाहेक, ज्येष्ठ नागरिक दसैँ मिलन, तीर्थाटन, योगाभ्यास, दिवा सेवा र मोहन प्रतिभा कोषबाट सम्मान जस्ता कार्यहरू पनि निरन्तर सञ्चालन गरिने बताइएको छ ।