Ad Image

मानव तस्करी प्रकरणमा रास्वपाले माग्यो प्रधानमन्त्रीको संसदमा जवाफ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sumana sh.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेनमा नेपालीहरू मानव तस्करीको शिकार भई नफर्किएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

रास्वपा सांसद सुमना श्रेष्ठले सभामुखबाट समय पाएपछि बोल्दै भनिन्, ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ।’ उनले स्पेनको ‘सेल्भिस केस’ले मानव तस्करीको समस्या कति महत्त्वपूर्ण र सान्दर्भिक छ भन्ने पुष्टि गरेको बताइन् ।

श्रेष्ठले बिचौलियाहरू किन डराइरहेका छैनन् भन्दै प्रश्न गरिन् । “सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर, न भय, न संकोच । कसको अकर्मण्यताले गर्दा यस्तो आँट मानव तस्करहरूमा पलाएको हो?’ उनले प्रश्न गर्दै सदनको गरिमा निलो रिबनमा भन्दा यस्ता विषयमा खोज्नुपर्ने बताइन् ।

श्रेष्ठले २०७८ फागुनमा बनेको भिजिट भिसा कार्यदलको प्रतिवेदन गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले कोभिडपछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित कार्यदल र अहिलेको कार्यदलमा कुनै फरक नभएको बताइन् । मानव तस्करीको जालो ठूलो रहेको भन्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग गठनको माग गरिन् ।