Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा

No Author Assigned | २०८२ असार २७ गते ०९:४३
Image of https://mayorsap.com/storage/photos/10/bimaa.jpg

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बिमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । निःशुल्क स्वास्थ्य बिमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बिमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बिमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिए ।

सात वटावडा रहेको कालीगण्डकी –१ मा सात सय ७२ घरधुरी, वडा नं २ मा सात सय २६ घरधुरी, वडा नं ३ मा पाँच सय ८३, वडा नं ४ मा छ सय ६८, वडा नं ५ मा छ सय ८०, वडा नं ६ मा पाँच सय ८८ र वडा नं ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बिमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो । दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको उनले जानकारी दिए ।

गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा नवीकरणवापत प्रत्येक तीन/तीन महिना गरी चार चरणमा रकम भुक्तानी गरेको हो ।“गाउँपालिकाका प्रत्येक सात वटै वडामा बिमा अभिकर्ताहरु हुनुहुन्छ” अध्यक्ष थापाले भने, “अभिकर्ताहरुले घर घरमा पुगेर फोटो खिच्ने तथा रसिद काटेर ल्याउनुहुन्छ, तीनै रसिदहरुका आधारमा तथ्याङ्क यकिन गरी स्वास्थ्य बिमा कार्यालय स्याङ्जामा पालिकाबाट सिधै भुक्तानी गर्छौँं ।”

एक जनादेखि पाँच जनासम्मको परिवारलाई रु तीन हजार ५०० भुक्तानी गर्ने उहाँले बताउनुभयो । पाँच देखिमाथि परिवार सङ्ख्या भएको घरधुरीलाईप्रति सङ्ख्याका आधारमा सात सय थप गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि निःशुल्क स्वास्थ्य बिमा कार्याक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष थापाले बताए ।

“स्वास्थ्यको पहुँच नभएर गाउँपालिकाभित्रका नागरिक उपचारका लागि अस्पताल जान नसक्ने अवस्था नहोस्, सबैलाई स्वास्थ्यको समान पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेका हौँ” अध्यक्ष थापाले भने, “आव २०७८÷७९ बाट सुरु भएको कार्यक्रमले निरन्तरता पाइराख्ने छ ।”

गाउँपालिकाभित्रका नागरिकले स्वास्थ्य बिमाका अलावा गाउँपालिका मातहतमा मिर्मिमा सञ्चालनमा रहेको कालीगण्डकी अस्पतालबाट दिइने स्वास्थ्यसम्बन्धी उपचार तथा औषधि निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । 


Facebook Comments