Ad Image

हेटौंडा उपमहानगरपालिकाकी प्रमुखसहितको टोली ‘मुनि एक्स्पो २०२५’ मा भाग लिन इजरायलमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mina.jpeg

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा सहितको १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल मुनि एक्स्पो २०२५ मा भाग लिन इजरायल पुगेको छ । जुलाई १५ देखि १७ सम्म तेलअविवमा स्थानीय सरकार महासंघले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन टोली इजरायल पुगेको हो । 

इजरायलको परराष्ट्र मन्त्रालयले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेको छ। “लोकल कम्पास” भन्ने नाराका साथ आयोजना हुने यस वर्षको एक्स्पो संकट व्यवस्थापन, स्थानीय र राष्ट्रिय समन्वयमा केन्द्रित हुनेछ। प्रतिनिधिमण्डलमा शहरी विकास मन्त्रालयका उच्च पदस्थ अधिकारी, राष्ट्रिय योजना आयोगका प्रतिनिधि र विभिन्न स्थानीय तहका नगर प्रमुखहरू सहभागी छन्। 

कार्यक्रममा नेपाली टोलीले एक सय ५० भन्दा बढी इजरायली तथा अन्तर्राष्ट्रिय कम्पनी र स्टार्टअपहरूसँग अन्तरक्रिया गर्नेछन्। साथै, टोलीले नवप्रवर्तनयुक्त शहरी आयोजनाहरुको अवलोकन गर्ने कार्यक्रम छ। भ्रमणको क्रममा टोलीले होलोकस्ट स्मृति केन्द्र, शाफ्दान फोहोर पानी प्रशोधन केन्द्र, र विभिन्न नगर नवप्रवर्तन केन्द्रहरूको अध्ययन अवलोकन गर्नेछ। यस भ्रमणबाट इजरायलका नवीनतम शहरी व्यवस्थापन प्रविधि र पूर्वाधार समाधानबारे प्रत्यक्ष जानकारी लिन उपयोगी हुने विश्वास गरिएको छ। 

यसका साथै, प्रतिनिधिमण्डलले हमास आतङ्ककारी समूहले अक्टोबर ७, २०२३ मा आक्रमण गरेको नोभा फेस्टिभलको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीसहित एक सय जनाको ज्यान गएको थियो, भने एक नेपाली विद्यार्थी विपिन जोशी अझैसम्म हमासको बन्धकमा छन्। इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा यस भ्रमणले नेपाल र इजरायलबीच दिगो शहरी विकास, क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदानको क्षेत्रमा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । प्रतिनिधिमण्डल जुलाई १८ मा नेपाल फर्किने कार्यक्रम छ।