Ad Image

आइएमई पे र खल्ती मर्ज भई ‘खल्ती बाइ आइएमई’को सुरुवात

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-07-17 at 9.40.01 AM.jpeg

काठमाडौं । आजबाट आइएमई पे र खल्ती वालेट औपचारिक रूपमा मर्ज भई ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यो मर्जरसँगै १ करोड २७ लाखभन्दा बढी सेवाग्राही एउटै एपमा जोडिएका छन्, जसले यसलाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।

नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

करीब एक दशकदेखि डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका यी दुई वालेटमध्ये, आइएमई पे ब्याज दिने एकमात्र वालेट र रेमिटेन्स तथा इनड्राइभ भुक्तानीमा लोकप्रिय थियो । यता, खल्ती भने मुभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामाझ लोकप्रिय थियो । अब यी दुवैले आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत र सहज रूपमा प्रदान गर्नेछन् ।

साविक आइएमई पे प्रयोगकर्ताहरूले ’खल्ती बाइ आइएमई’ मा माइग्रेट भई आफ्नो रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण गर्न सक्नेछन् । खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्नेछन् ।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्मा र खल्तीका अध्यक्ष मनोज कुमार अग्रवाल ले यो मर्जरले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने र देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन् । आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्का ले डिजिटल पहुँच विस्तार, साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।

दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरी मर्जरको औपचारिक घोषणा समेत गर्नेछन् । यसअघि आइएमई पे ले Digital Services ICT Award 2024 लगायत विभिन्न अवार्डहरू जितेको थियो भने खल्तीले पनि WITSA Global Innovation & Tech Excellence Awards 2022, 2023 र 2024 लगायत विभिन्न सम्मानहरू प्राप्त गरेको थियो ।