लहान यातायात कार्यालयद्वारा ५१ करोड भन्दा बढी राजस्व सङ्कलन


सिरहा । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१\८२ मा ५१ करोड भन्दा बढी राजस्व उठाएको छ ।
कार्यालयले अघिल्लो वर्षको तुलनामा १ करोड २४ लाख बढी यो वर्ष ५१ करोड ६६ लाख ३६ हजार ५५० रुपैयाँ राजस्व उठाएको हो । यो आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सवारी करबाट ३८ करोड ३३ लाख रुपैयाँ सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब दस्तुरबाट १० करोड ५० लाख रुपैयाँ, यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ८४ लाख रुपैयाँ, र आयकरबाट १ करोड ९० लाख रुपैयाँ राजस्व उठाइएको यातायात कार्यालयले जनाएको छ ।
त्यस्तै, प्रशासनिक दण्ड र जफतबाट ८ हजार रुपैयाँ, अन्य सेवा शुल्कबाट २ लाख ८५ हजार, कम्पनी रजिस्ट्रेसन शुल्कबाट ३ लाख २७ हजार, र सडक सम्भार दस्तुरबाट १८ हजार रुपैयाँ सङ्कलन गरिएको उल्लेख गरिएको छ ।
सङ्कलन भएको कुल रकममध्ये ४९ करोड ७५ लाख रुपैयाँ सङ्घ सरकारको खातामा, बाँकी १ करोड ९० लाख रुपैयाँ प्रदेश सरकारको खातामा जम्मा गरिएको कार्यालयले जनाएको छ ।
राजस्व सङ्कलनमा देखिएको यो प्रगति प्रशासनिक कार्यक्षमतामा सुधार र सेवाग्राहीको सक्रिय सहभागिताको परिणाम भएको भन्दै कार्यालयले आगामी वर्षमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।