Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

User Image मेयरसाप डेस्क | २०८२ असार ३१ गते २१:०४
Image of https://mayorsap.com/storage/photos/10/gaja111.PNG

सिरहा । जिल्लाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान गरिएको संयुक्त अपरेसनमा सात क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले ६० वर्षीय मेदी यादवको घरमा जाँच गर्ने क्रममा गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारेको हो । सुराकी सूचनाका आधारमा गरिएको अपरेसनमा प्रारम्भमा २६ पोका गाँजा बरामद भएकामा, खोजतलासका क्रममा थप एक पोका फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार गाँजा बरामद भए पनि घरधनी यादव भने घटनास्थलबाट फरार छन् । हाल निजको खोजी कार्य जारी रहेको बताउँदै बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रियाअघि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ । 


Facebook Comments