Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रूपन्देही-३ उपनिर्वाचन : उम्मेदवारीदेखि मतदानसम्मको तालिका सार्वजनिक

User Image मेयरसाप डेस्क | २०८२ साउन २ गते १९:११
Image of https://mayorsap.com/storage/photos/10/nirwachan aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने, असोज २१ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने बताए । 

सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

सोही दिन दिउँसो ३ः०० देखि असोज २३ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी ७ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३ः०० बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले भने उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।


Facebook Comments