निजामती विधेयकमा गठबन्धनभित्र किचलो: एमाले सांसदको संशोधनबारे शेखरको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा (एमाले) का सांसदहरूले हालेको संशोधनप्रति आपत्ति जनाएका छन् ।
उनले यो संशोधन गठबन्धनका दलहरूबीच भएको सहमति विपरीत रहेको भन्दै यसलाई एमालेको ’दोहोरो चरित्र’ र ’देश, जनता, लोकतन्त्र तथा गठबन्धनलाई धोका’ भएको बताएका छन् ।
कोइरालाले एमाले सांसदहरूले राखेको उक्त संशोधन पास हुन दिन नहुने बताएका छन् । उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्नेमा जोड दिँदै ’कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’ भन्दै दृढता व्यक्त गरेका छन् ।
एमालेका तर्फबाट पाँच जना सांसदले कुलिङ पिरियड नै राख्न आवश्यक नरहेको तर्कसहित संशोधन प्रस्ताव राखेका हुन् । राष्ट्रिय सभामा विधेयकमाथिको छलफलका क्रममा समेत एमाले सांसदहरू कुलिङ पिरियडको विषयमा मौन रहेका थिए ।