स्वास्थ्य बीमाको भुक्तानी भदौभित्रै, देउराली प्राथमिक अस्पतालको उद्घाटन


मध्यविन्दु । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा गरिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा बाँकी भुक्तानी पूरा गरिने जानकारी दिए ।
मन्त्री पौडेलले अस्पतालहरूलाई बीमाबापत प्राप्त हुने रकमको ३०–४० प्रतिशत स्वास्थ्य सेवा विस्तारमा लगानी गर्न आग्रह गरे । उनले पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेको भन्दै, सीमित साधनस्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकाका प्राथमिकस्तरका अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।
साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने ती अस्पतालमा प्रदेश र सङ्घ सरकारले स्रोतसाधन उपलब्ध गराउने बताए । उनले विभिन्न जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत प्रदान गर्न राज्यले एकमुष्ट रकम छुटको सुविधा प्रदान गरेको पनि उल्लेख गरे ।
“स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्,“ उनले भने, “सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।” पाँच शय्याको देउराली प्राथमिक अस्पतालबाट आजैदेखि सेवा सञ्चालन गरिएको छ ।