कुलिङ पिरियड गडबडीबारे मुख्यसचिव अर्याल भन्छन्–सम्पूर्ण जिम्मा सभापति र सचिवालयले लिनुपर्छ
मेयरसाप डेस्क
|
२०८२ साउन ५ गते ११:५२
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियड गडबडीको सम्पूर्ण जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन् ।
निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा मुख्यसचिव अर्यालले विधेयक सच्याउन कर्मचारीको भूमिका नहुने भन्दै यसको जिम्मा सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका हुन् ।
मुख्यसचिव अर्यालले राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको भन्दै पेशागत हितका लागि गरिएको लबिइङलाई समेत राजनीतिज्ञले अनावश्यक टिप्पणी गरेको गुनासो गरे ।
‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन् । ३४ वर्ष भयो मैले काम गरेको । अब म घर जाँदा अयोग्य भएर जाने ? आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?’ उनले भने, ‘हामीले पेशागत हितका लागि गरेको लविङलाई देउसी भैलोमा परिणत गरिदिने ?’ उनले भने।
कुलिङ पिरियडको व्यवस्था राख्दा तत्काल अवकाश प्राप्त कर्मचारीले नियुक्ति नपाउने तर दुई वर्षअघिका तिनै कर्मचारीले अवसर पाउने भन्दै उनले गल्ती गर्नेलाई नै लाभ हुने वातावरण बन्ने पनि बताए ।
Facebook Comments