काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात


झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया रु नौ अर्ब ५५ करोड ८५ लाख, अलैंची रु छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर रु तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो रु एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ ।
साथै अदुवा रु २७ करोड २६ लाख, बन्दा रु आठ करोड ६० लाख, जडीबुटी रु नौ करोड १३ लाख, मसुरो दाल रु नौ करोड सात लाख बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १७ करोड ७० लाख ७२ हजार, चामल रु नौ करोड २७ लाख, ताजा तरकारी रु ३८ करोड ३२ लाख मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफूल रु ३८ करोड ११ लाख, लसुन रु ६४ करोड १५ लाख, आलु रु ७३ करोड ८६ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।