Ad Image

मन्दिरमा ह*त्या गरिएका व्यक्तिको पहिचान खुल्यो

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

सिन्धुली । दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । 

हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका थिए ।

गत सोमबार बिहान उक्त स्थानमा करिब २५\३० वर्षको पुरुषको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घटनास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो ।

प्रहरीका अनुसार पङ्कज साथीहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । 

घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभिन्न स्थानबाट भारतीयहरू बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न आउने गरेका छन् ।