Ad Image

ख्यातिप्राप्त मूर्तिकार प्रेम टमटा : सीप र लगनशीलता, तर प्रविधिको अभाव

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Murtikar.jpg

कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिका–३, दैजीका ५७ वर्षीय प्रेम टमटा सुदूरपश्चिममै एक ख्यातिप्राप्त मूर्तिकारका रूपमा परिचित छन् । दुई दशकभन्दा बढी समयदेखि तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सयौँ मूर्तिहरू बनाइसकेका टमटालाई धेरैले ‘प्रेम मूर्तिकार’ नामले चिन्छन् । उनको सीप, परिश्रम र प्रतिबद्धताले उनलाई गरिबीबाट आजको सम्मानजनक स्थानसम्म पुर्याएको छ ।

सुविधाको कमीले उनको सृजनात्मक उचाइमा भने अझै पनि बाधा पुगेको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उनको दैनिकी हो । यस कार्यमा श्रीमतीले पनि साथ दिँदै आएकी छिन् । उनले शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा र सहिदका सालिकलगायतका मूर्तिहरू बनाउँछन् । एउटा मूर्ति बनाउन १० देखि २५ दिनसम्म लाग्ने उनी बताउँछन् ।

सामान्य मूर्तिका लागि कम र बढी श्रम लागेका मूर्तिका लागि बढी पारिश्रमिक लिने गरे पनि काम निरन्तर नहुँदा परिवारको खर्च धान्न भने मुस्किल हुने गरेको प्रेम बताउँछन् । उनको वार्षिक आम्दानी करिब ५ लाख रुपैयाँ छ, जसबाट उनले दैजीमा २ कठ्ठा जग्गा किनेर पक्की घर बनाएका छन् र छोराछोरीको विवाहसमेत गरिसकेका छन् ।

यद्यपि, सबै कुरा सहज छैन । आर्थिक अभावका कारण उनले हालसम्म पित्तल र अन्य धातु पगाल्ने मेसिन वा रङरोगन गर्ने उपकरण खरिद गर्न सकेका छैनन् । उनी अहिले पनि सबै मूर्ति हातैले बनाउँछन्, जसले गर्दा समय र श्रम बढी लाग्छ । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गर्दा पनि अहिलेसम्म सहयोग नपाएकोमा उनको गुनासो छ ।
मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्तिकला सिकाउने उनको इच्छा छ । उनका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, तर मेसिन नहुँदा हातैले काम गर्न इच्छुक नभएपछि हाल भारतमा मजदुरी गर्दैछन् । प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा करिब २० जना श्रमिकलाई रोजगारी दिने गरेका छन्, र मेसिन भएमा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ ।

उनले अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म पुगेर मूर्तिहरू बनाएका छन् । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उनकै निर्माण हो, जसलाई बनाउन पूरा एक वर्ष लागेको थियो ।

भारतको राजस्थानमा १६ वर्षसम्म मूर्तिकारको रूपमा काम गर्दै सीप सिकेर स्वदेश फर्किएका प्रेम भन्छन्, “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ।”

दलित समुदायको व्यक्ति भएकाले आफूले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उनी असन्तुष्टि पोख्छन् । उनकी श्रीमती लक्ष्मी टमटाले पनि ‘हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन’ यो अपमान भएको भन्दै छुवाछूतको व्यवहारले सामाजिक सद्भावमा चोट पुर्याएको बताएकी छिन् ।