थाइल्याण्डले भन्यो– ‘कम्बोडियासँगको सीमा विवाद युद्धमा परिणत हुनसक्छ’


काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको सीमा क्षेत्रमा जारी झडप युद्धमा परिणत हुनसक्ने चेतावनी दिएका छन् । बिहीबारदेखि सुरु भएको झडपमा थाइल्याण्डतर्फ १५ जनाको मृत्यु भइसकेको छ ।
थाई सेनाका अनुसार, बिहीबार कम्बोडियाको गोलीबारीबाट एक नागरिकको मृत्यु र तीन जना घाइते भएपछि हवाई आक्रमण गरिएको थियो । शुक्रबारसम्म १ लाख ३८ हजारभन्दा बढी थाई नागरिकलाई सीमा क्षेत्रबाट स्थानान्तरण गरिएको छ ।
झडपहरू १२ स्थानमा फैलिएको र कम्बोडियाले भारी हतियार प्रयोग गरिरहेको थाई सेनाले जनाएको छ । कम्बोडियाले आफ्नो क्षतिको विवरण सार्वजनिक नगरे पनि एक सर्वसाधारणको मृत्यु र पाँच जना घाइते भएको रोयटर्सले जनाएको छ ।
थाइल्याण्डले सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । दुई देशबीच सीमा विवादको लामो इतिहास भए पनि २०११ पछिको सम्बन्ध सामान्य थियो । २०२४ मे मा भएको झडपपछि कम्बोडियाले अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव गरे पनि थाइल्याण्डले अस्वीकार गरेको थियो ।