Ad Image

४५ वर्षको पार्टी सदस्यता नवीकरण रोक्न मिल्दैन : विद्या भण्डारी

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya press meet (1).jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षअघि नै पार्टी सदस्यता लिएको उल्लेख गर्दै त्यसको नवीकरणमा रोक लगाउन नमिल्ने बताएकी छिन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले उनको सदस्यता नवीकरण रोक्दै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेपछि उनले पहिलो पटक पत्रकार सम्मेलनमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

“म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ। यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,” भण्डारीले भनिन् ।

उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय अवैध र अपरिपक्व भएको दाबी गरिन् । ‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रुपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ भण्डारीले भनिन् ।

उनले यस्ता निर्णयहरू पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल रहेको समेत बताइन् । उनले यी कुराहरू भावनामा बगेर नभनेको र पार्टी निर्माणमा आफूलगायत हजारौँले रगत पसिना बगाएको समेत स्मरण गराइन् ।