Ad Image

आकर्षक तलबको प्रलोभनमा भारतमा मानव बेचबिखन, २ जना पक्राउ

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री छन् ।

अदालतको आदेशअनुसार उनीहरूलाई पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

अनुसन्धानका क्रममा राजकुमार अच्छामीसहितका व्यक्तिले पीडितलाई भारतमा चालकको काम र मासिक ३५ हजार भारु तलबको प्रलोभन देखाएर लगेका थिए । गत वैशाख १९ गते काठमाडौँबाट वीरगञ्ज पुर्याई रेशमबहादुरलाई हस्तान्तरण गरेपछि उनीहरूलाई पटनास्थित एक कम्पनीमा १० हजार रुपैयाँ तिर्न लगाई सात दिनसम्म तालिमका नाममा बन्धक बनाइएको खुलेको छ ।

त्यहाँ पीडितहरूलाई घर परिवारसँग सम्पर्क गर्न नदिई, खानाबस्न नदिई र डरधम्की दिई अनलाइन स्क्यामिङको काम गर्न बाध्य पारिएको पाइएको छ । दुई लाख रुपैयाँ रकम लिई कपडा किन्न लगाई जबरजस्ती कागज गरी थप दुई महिनासम्म बन्धक बनाएपछि पीडित साउन १ गते उम्किएर नेपाल फर्केका थिए । ब्युरोमा जाहेरी दर्ता भएपछि साउन ५ गते मुद्दा दायर गरी खोजी गर्दा अच्छामीलाई बल्खुबाट र खत्रीलाई पर्साबाट पक्राउ गरिएको हो ।