नेपालमा लगानी गर्न थाई उद्योगीलाई परराष्ट्रमन्त्री राणाको आग्रह


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध र कैयौँ सांस्कृतिक समानताहरू रहेको बताएकी छिन् ।
राजधानीमा आयोजित ‘थाइ फ्लेभस् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले दुई देशबीच पाहुनाको स्वागत, बहुधार्मिक–बहुसांस्कृतिक मूल्यमान्यताको सम्मान, सहिष्णुता, र पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने समानता रहेको चर्चा गरिन् ।
मन्त्री राणाले पर्यटन दुई देशबीचको साझा समृद्धिको क्षेत्र हुन सक्ने स्पष्ट गर्दै नेपालमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् । नेपालको उद्यमशीलता र हस्तकला उत्पादन विश्वबजारमा आकर्षक रहेको भन्दै उनले थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिन् ।
नेपाल र थाइल्याण्ड दुवै कहिल्यै उपनिवेशमा नरहेका स्वतन्त्र राष्ट्र रहेको उल्लेख गर्दै मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको थाइल्याण्ड भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।