खानेपानीमा सरकारको शतप्रतिशत लगानी रहन्छ : मन्त्री यादव
No Author Assigned | २०८२ साउन १० गते ०८:५०
पाल्पा । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराइँदै आएको खानेपानीमा अब सरकारको शतप्रतिशत लगानी रहने घोषणा गरेका छन् ।
पाल्पाको तानसेनमा आयोजित तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले ‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत लिफ्टिङ खानेपानीमा लाग्दै आएको कर अब नलाग्ने जानकारी दिए ।
उनले सङ्घीय सरकारबाट ८५ प्रतिशत र प्रदेश तथा स्थानीय सरकारबाट १५ प्रतिशत आर्थिक भार व्यहोर्ने गरी व्यवस्था मिलाइएको बताए । अर्बौं लगानीका सडक र पुलमा महसुल नलिने तर खानेपानीजस्तो आधारभूत आवश्यकतामा महसुल लिने सान्दर्भिक नहुने उनको भनाइ थियो ।
मन्त्री यादवले देशभरिका ४२ हजार उपभोक्ता समितिलाई प्रभावकारी कार्यमा लगाउन मन्त्रालय प्रयासरत रहेको र सुरक्षित तथा सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताए
तानसेनमा ५० लाख लिटर क्षमताको ट्याङ्की निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले ३५ करोड बजेट आवश्यक पर्ने उक्त योजनाका लागि चालु आर्थिक वर्ष २०८२\८३ मा १० करोड विनियोजन गरिएको र दशैँपछि बाँकी बजेट व्यवस्था गरिने बताए ।
Facebook Comments