भीम रावल भन्छन्– ‘सरकार विदेशीसामु झुकेर नदीनाला सुम्पँदै छ’


काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकार नेपालका नदीनालाहरूको दीर्घकालीन उपयोग गर्ने योजना बनाउन असफल भएको आरोप लगाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले देश अहिले खडेरीको गम्भीर सङ्कटमा रहेको र विशेषगरी मधेस प्रदेश अत्यधिक प्रभावित भएको बताए । तराई मात्र नभई नेपालको अधिकांश भूभागमा पर्याप्त वर्षा नहुँदा रोपिएको धान सुक्न थालेको र खेतीयोग्य जमिन बाँझिन थालेको उनको भनाइ छ ।
रावलले पानीको चरम अभाव खेपिरहेका क्षेत्रमा नदीनाला उपयोग गर्ने योजना बनाउनुको साटो विदेशीको हातमा सुम्पन तँछाडमछाड गर्ने र खडेरीबाट पीडित मधेस प्रदेशमा ५०० भूमिगत पानी प्रयोग आयोजना बनाउने कुरा गर्नु समस्याको दीर्घकालीन समाधान नभएको जिकिर गरे ।
उनका अनुसार, भूमिगत पानी उपयोग कार्यक्रम केही समयका लागि राहत भए पनि दीर्घकालीन समाधान होइन, किनकि आकाशको पानी जमिनमा जान नपाए जमिनमुनिको पानी पनि सुक्छ । त्यसैले स्थायी समाधान भनेको नदीनालाहरूको संरक्षण र उपयोग हो ।
रावलले नेपाल र नेपाली जनताको हितमा नदीनालाको पानीको सदुपयोग गर्न दीर्घकालीन योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।