Ad Image

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pm_oqbw2h2Cj2.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । 

आफूलाई अभियन्ता बताउने युवराज पौडेल ‘सफल’ले आज दर्ता गरेको उजुरीमा राईलाई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, र नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै छानबिन गरी कारबाहीको माग गरिएको छ ।

उजुरीमा विशेष अदालतको २०८१ मंसिर २० गतेको फैसलालाई उद्धृत गर्दै अदालतले राईमाथि मुद्दा नचलाइएकोमा आपत्ति जनाएको र ‘चयनमुखी अभियोजन’ समान न्यायको सिद्धान्तविरुद्ध रहेको उल्लेख गरेको छ ।

पूर्व आपूर्ति सचिव हुँदा राई नेपाल आयल निगमको डेढ अर्बभन्दा बढीको जग्गा खरिद अनियमिततामा पनि मुछिएको आरोप लगाइएको छ । उजुरीकर्ता सफलले जग्गा खरिदको निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष राई भए पनि कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई मात्र मुद्दा चलाइएको र राई जोडिएको मुद्दा हतारमा तामेलीमा राखिएको दाबी गरेका छन् ।

सफलले अदालतले समेत दोषी देखाएको भन्दै राईलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न ध्यानाकर्षण गराएका छन् ।