काभ्रे–सिन्धुपाल्चोक जोड्ने चेहेरे पुल पाँच वर्षदेखि अलपत्र

काभ्रे । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । २०७७ भदौमा ११ करोड ७ लाख ४२ हजार रुपैयाँमा अमर कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको यो पुलको काम २०८० जेठ २ गतेसम्म सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरेको छ ।
सडक विभाग अन्तर्गतको पुल सेक्टर कार्यालयका इन्जिनियर निरोज महर्जनका अनुसार, कम्पनी सम्पर्कविहीन छ र पछिल्लो पटक २०८१ वैशाख २० गते २३ महिना २५ दिनका लागि थपिएको म्याद पनि गत जेठ ९ गते सकिएको छ । हालसम्म पुलका तीनवटा पिल्लर मात्रै उठाइएका छन् भने काभ्रेतर्फ एउटा स्पान मात्रै तयार भएको छ ।
पुलको काम अलपत्र पर्दा भुम्लु गाउँपालिकाका हजारौं नागरिकले सास्ती खेप्दै आएका छन् । वडाध्यक्ष लेखबहादुर श्रेष्ठका अनुसार, पुल नबन्दा स्थानीयले १५ किलोमिटर बढी सडक यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीयले ठेकेदारको लापरबाहीका कारण पुल बेवारिसे अवस्थामा रहेको भन्दै यसको विकल्प खोज्न माग गरेका छन् ।