वीर अस्पतालको सुधारले समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सुधार समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । वीर अस्पतालको १३६औं वार्षिकोत्सव समारोहमा उनले यस अस्पताललाई सुधार्न राज्यले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न वीर अस्पताललाई हेरे पुग्ने उल्लेख गर्दै, यसलाई सुधार्न सके मात्र स्वास्थ्य क्षेत्रमा सुधार आउने बताए । उनले अस्पताललाई आवश्यक उपकरण र पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले अधिकतम प्रयास गर्ने जनाए ।
पौडेलले स्वास्थ्य क्षेत्रमा थप लगानीको आवश्यकता औंल्याउँदै भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बीमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिए ।
अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले आर्थिक वर्ष २०८१÷८२ मा बहिरङ्ग सेवाबाट ६ लाख ४७ हजारभन्दा बढी, आकस्मिक सेवाबाट ३५ हजारभन्दा बढी र अन्तरङ्ग सेवाबाट २१ हजारभन्दा बढीले सेवा लिएको जानकारी गराए ।
दैनिक करिब २,५०० जनाभन्दा बढीले वीर अस्पतालबाट सेवा लिने गरेको उनले बताए । डा. शर्माले वीर अस्पतालमा ७२ वटा सघन उपचार श्यया र ३८ वटा हाइ–डिपेन्डेन्सी युनिट रहेको जानकारी दिए ।
उनले बजेटको कमी, स्वास्थ्य बीमा बोर्डबाट समयमै सोधभर्ना नहुनु, कर्मचारी परिवर्तन र प्राविधिक जनशक्तिको अभाव अस्पतालका चुनौतीहरू रहेको औंल्याए । वि.सं. १९४६ साउन १२ गते १५ श्ययाबाट सुरु भएको वीर अस्पतालको हाल स्वीकृत क्षमता ९६० श्यया रहेको छ ।