Ad Image

त्रिवि क्रिकेट मैदानको पहिलो चरणको काम एक महिनाभित्र सकिने

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/20250728_142536.jpg

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण व्यवसायीले जानकारी दिएका छन् ।

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको टोलीले आज मैदानको अवलोकन गर्दा यस्तो जानकारी गराइएको हो ।

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार, पहिलो चरणमा प्यारापिट र फ्लडलाइटको करिब ८० प्रतिशत काम सकिएको छ । यस चरणपछि मैदानमा १० हजार दर्शक अटाउने क्षमता हुनेछ, जसलाई दोस्रो चरणमा २५ हजार पुर्याउने लक्ष्य छ ।

राति पनि खेल सञ्चालन गर्नका लागि ६ वटा फ्लडलाइट जडान गरिँदैछ, जसमध्ये जमिनमुनिको काम सकिएको र तीन वटा स्ट्याण्ड भारतबाट आइसकेका छन् । बत्तीहरू युरोपबाट ल्याइँदैछन् । रङ्गशाला निर्माणका लागि कुल ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

पहिलो चरण सम्पन्न भएपछि नेसनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जग्गा स्वामित्वबारे क्यान (नेपाल क्रिकेट सङ्घ)सँगको लिज सम्झौता आगामी वैशाखमा सकिने भएकाले त्रिविका चासोहरू सम्बोधन गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

समितिका सभापति ठाकुर गैरेले प्रधानमन्त्रीको उद्घोषअनुसार काम भइरहेको र प्रतिकूल मौसमका बाबजुद निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने दिशामा अघि बढेको पाइएको बताए ।

क्यानका सचिव पारस खड्काले त्रिवि मैदानमा धेरै खेलप्रेमीको सपना जोडिएको भन्दै फ्लडलाइटमा एनपीएल खेल्ने लक्ष्य पूरा हुने बताए ।