मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको निर्माणाधीन नहर निरीक्षण


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् । कञ्चनपुरमा निर्माणाधीन नहरको अनुगमन गर्दै मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए ।
उनले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेको भन्दै, तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।
मन्त्री खड्काले महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष जोडिएको आयोजना भएको र किसानको खेतमा पानी पु¥याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
टनकपुर ब्यारेजमार्फत पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको यस आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ ।
आयोजनाको समग्र भौतिक प्रगति २४.२२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ ।
निरीक्षणमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत उच्च पदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।