लिचीबारी काण्डपछि रञ्जितालाई नाउपा अध्यक्षबाट हटाउने प्रस्ताव पारित


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले यो निर्णय गरेको महासचिव ठाकुरसिंह थारुले जानकारी दिएका छन् ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएकी श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो । संरक्षक रेशम चौधरीसहितका नेताहरूले असहमति जनाएका थिए ।
अनुशासन समितिले कारबाही गरी स्पष्टीकरण सोधेको तर श्रेष्ठले तोकिएको समयभित्र जवाफ नदिएपछि उनलाई अध्यक्षबाट हटाइएको हो । नाउपाले रञ्जितालाई पदमुक्त गरेको जानकारी निर्वाचन आयोगलाई समेत मंगलबार नै गराइसकेको छ । अहिले नयाँ अध्यक्षबारे छलफल भइरहेको छ ।