काठमाडौंमा भारतीय नागरिकको ह*त्या, मालिक पक्राउ


काठमाडौं । काठमाडौंको न्ह्योखामा भारतीय नागरिक सुब्रता पालको आफ्नै मालिक श्याम कालिकोटेबाट हत्या भएको खुलेको छ । भारतको पश्चिम बंगाल घर भएका ५४ वर्षीय पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ का ४२ वर्षीय कालिकोटेलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, सामान्य विवादमा हत्या भएको देखिन्छ । आरोपी कालिकोटेले आफू मालिक भए पनि पालले आफूलाई होच्याएको निहुँमा हत्या गरेको बयान दिएका छन् ।
कालिकोटेको सुनचाँदी पसलमा पाल सुनारको काम गर्थे । साउन १३ गते दुवैजना सँगै मदिरा पिएर पालको कोठामा सुत्न गएका थिए । त्यही क्रममा होच्याएको निहुँमा विवाद भई साउन १४ गते राति २ः४५ बजेतिर ह्यामरले हानेर हत्या गरेको कालिकोटेले प्रहरी समक्ष बताएका छन् ।
हत्यापछि फरार भएका कालिकोटेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले नयाँ बसपार्कस्थित ऋषिकेश गेष्ट हाउसबाट पक्राउ गरेको हो ।