Ad Image

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली–देउवा, बालुवाटारमा निर्णायक छलफल

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/fbdfc0ca-d1d9-468e-bc88-7346207b00ae.jpeg

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनको तयारी स्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् । 

उक्त छलफलमा शीर्ष नेताहरूसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक छन् भने एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

प्रधानमन्त्री ओली छिटोभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहिरहेका छन् । गत वर्षको ३१ असारमा सरकार गठन भएको हो । एक वर्षको अवधिमा मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा मन्त्रीहरू हेरफेर गर्न लागिएको हो । प्रधानमन्त्रीले यसअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागे पनि सभापति देउवाका कारण रोकिएको थियो । 

देउवा पार्टीको गुटगत सन्तुलन नबिग्रियोस् भन्नका लागि पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने पक्षमा देखिएका थिएनन् । तर पछिल्ला केही दिन उनले पार्टीभित्र आन्तरिक छलफल गरेर प्रधानमन्त्री भेट्न पुगेका हुन् ।

आजको भेटवार्ता सरकार पुनर्गठनको सम्बन्धमा निर्णायक छलफल भएको देउवा निकट एक नेताले जानकारी दिए ।