पशुपति बालुवा खानी भ्रष्टाचार: दोषीहरू सर्वोच्चको फैसला त्रुटिपूर्ण भन्दै पुनरावलोकनमा

काठमाडौं । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवा खानीको भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएकाहरूले सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकनको निवेदन दर्ता गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेल, काठमाडौँका स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र काठमाडौँ जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्लले पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।
२०८१ माघ ३० मा सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपतिनाथको सम्पत्ति हिनामिनासँग जोडिएको यो भ्रष्टाचार घटनामा उनीहरूलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले बिहीबार ती सबै निवेदनको अध्ययनका लागि पेसी तोकेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले निवेदनहरूको अध्ययन गरी पुनरावलोकनको अनुमति दिने वा नदिने भन्ने आदेश गर्नेछ, जसपछि मात्र मुद्दाको पुनः सुनुवाइ हुने बाटो खुल्नेछ ।